कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत विकास र गुणस्तरीय सेवातर्फ अर्को महत्त्वपूर्ण कदम।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोज्यू र माननीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताज्यूबीच भएको भेटघाटका क्रममा आर्थिक वर्ष २०८३/८४ का लागि प्रतिष्ठानको कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताले प्रतिष्ठानको आगामी कार्यदिशा, प्राथमिकता र संस्थागत जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ।
सम्झौतामा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, चिकित्सा शिक्षा तथा शैक्षिक गुणस्तर अभिवृद्धि, विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको व्यवस्थापन, भौतिक पूर्वाधार विकास, औषधि तथा उपकरणको प्रभावकारी व्यवस्थापन, स्वास्थ्य बिमा तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवा, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल स्वास्थ्य प्रणाली (EMR), सुशासन र प्रशासनिक सुधारलगायतका महत्त्वपूर्ण विषयहरू समेटिएका छन्।
विशेषगरी बिरामीको सेवा प्राप्त गर्ने प्रतीक्षा समय घटाउने, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, शैक्षिक कार्यक्रमलाई थप गुणस्तरीय बनाउने, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा दुर्गम क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्यहरू अत्यन्तै महत्त्वपूर्ण छन्।
आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारित लक्ष्यहरूमध्ये:
- - पुँजीगत खर्च शतप्रतिशत पुर्याउने।
- स्वास्थ्य बिमाअन्तर्गत सेवाग्राहीको सङ्ख्या ८५ हजार पुर्याउने।
- बिरामीको औसत प्रतीक्षा समय तीन घण्टाबाट डेढ घण्टामा झार्ने।
- विशेषज्ञ तथा प्राविधिक जनशक्तिको पदपूर्ति ७५ प्रतिशत पुर्याउने।
- शैक्षिक गुणस्तर अभिवृद्धि गरी ९० प्रतिशत लक्ष्य हासिल गर्ने।
- EMR लगायत डिजिटल स्वास्थ्य प्रणालीलाई संस्थागत गर्ने।
- अनुसन्धान, विशेषज्ञ सेवा तथा ग्रामीण स्वास्थ्य सेवाको विस्तार गर्ने।
यी लक्ष्यहरू केवल वार्षिक योजना मात्र होइनन्; कर्णालीका नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र प्रतिष्ठानलाई राष्ट्रिय स्तरको उत्कृष्ट शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्ने दिशाका महत्त्वपूर्ण आधार हुन्।
माननीय मन्त्रीज्यूबाट प्राप्त मार्गदर्शन, मन्त्रालयको सहयोग र प्रतिष्ठानको नेतृत्वको प्रतिबद्धताले यी लक्ष्यहरूको प्रभावकारी कार्यान्वयनमा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौँ।
कर्णालीको भौगोलिक विकटता, सीमित स्रोतसाधन र विविध चुनौतीका बाबजुद पनि प्रतिष्ठानले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको छ। आगामी दिनमा यस उपलब्धिलाई थप सुदृढ गर्दै सेवा प्रवाहलाई अझ गुणस्तरीय, पारदर्शी, सहज र जनमुखी बनाउने हाम्रो साझा प्रतिबद्धता रहनेछ।
हाम्रो प्राथमिकता स्पष्ट छ:
बिरामीलाई गुणस्तरीय उपचार, विद्यार्थीलाई उत्कृष्ट शिक्षा, कर्मचारीलाई मर्यादित कार्य वातावरण र संस्थालाई पारदर्शी, उत्तरदायी तथा परिणाममुखी प्रणाली।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उन्नति भनेको केवल एउटा संस्थाको विकास होइन, समग्र कर्णालीको स्वास्थ्य, शिक्षा र समृद्धिको आधार निर्माण गर्नु हो।
स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली निर्माणको यात्रामा हामी सबैको साझा प्रतिबद्धता।
जय कर्णाली!
जय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान